पुलवाली पार्वती ! जसको अगुवाइमा पुल बन्यो

२२ पुस, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुस्थित चालिसे गाउँकी शान बनेकी छिन्, पार्वती भण्डारी । झट्ट हेर्दा मोडेलजस्तै देखिने उनी आफ्नो गाउँमा ‘मोडल’ (नमूना) काम गर्ने आँटिली केटीमा गनिएकी छिन् ।

२२ वर्षीय पार्वतीको मुख्य भूमिकामा चिरुरीखर्क–चालिसे झोलुंगे पुल बनेको छ, करिब ३ महिनाको मिहिनेतपछि ।
निकै मिहिनेतका साथ बनाइएको यो पुलले चालिसे गाउँका बासिन्दालाई अब वर्षामा बन्द बाकसभित्र बसेजस्तो खुम्चिनुपर्ने बाध्यता हटाएको छ । ठाडो खेलामा ज्यानकै बाजी मार्दै वारि–पारि गर्नुपर्ने बाध्यता पन्छाएको छ ।
पार्वतीको गाउँमा वस्ती निकै पातलो छ । धेरैजसो भुजेल र घर्तीमगरको बसोबास छ । पढेलेखेका युवा यो गाउँमा खासै छैनन् । भएका युवाहरु सानै उमेर बिहे गरेर घर ब्यवहारमै व्यस्त छन् ।

कृषिमा आश्रित यो गाउँलाई मेलम्ची खोला सँधै खुट्टामा बाँधिएको जञ्जिर जस्तो थियो, जसले पारी जान मात्रै रोकेन र माथि उठ्नै अल्झाइरह्यो । पुलका लागि गाउँलले धेरै आवाज उठाए, तर बजेट आयो भने काम गर्न सकिन्छ भन्ने आँट कसैैले गरेनन् । बजेट दिने निकायले पनि त्यहाँ काम गर्ने मान्छे नै छैनन् भनेर टारिरहे ।

बजेटका लागि गाउँलेले जति पहल गरे पनि पुल बनाउन सक्छौं भनेर अघि तम्सिएर जाने पनि कोही भएनन् । निरक्षरको बस्ती भएकाले आफूहरु हेपिएको भान गाउँलेलाई नभएको हैन । तर, भरपर्दो नेतृत्वको अभावले चालिसे गाउँलाई मेलम्ची नदीले अरु गाउँसँगको सम्बन्ध बिच्छेद गरिरहेको थियो । यही खुम्चिएको परिवेशभित्रै हुर्किएकी हुन् पार्वती । उनैको मुख्य सक्रियतामा भर्खर एउटा झोलुंगे पुल बनेको छ ।

हेलम्बु गाउँपालिकाले झोलुंगे पुलका लागि बजेट दिएपछि उनले यो पुल निर्माण गर्ने समितिको सचविका रुपमा काम गरिन् । उनका गाउँमा सबै जना यसमा जुटे । गाउँमा पढेलेखेका मान्छे नभएपछि पुल निर्माणका लागि उनैले मुख्य भूमिका खेल्नुपर्‍यो ।

पार्वती यसै पनि गाउँका अरु युवाभन्दा भाग्यमानी पनि थिइन् । भुमेश्वरी स्कुलबाट एसएसली पास गरेकी उनले काठमाडौं आएर प्लस–टु पढ्न पाइन् ।

Similiar Post